
हिन्दू धर्मावलम्बीहरूका लागि शुक्रबार विशेष धार्मिक महत्व बोकेको दिन हो। यस दिन सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको विधिपूर्वक पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार माता लक्ष्मीको व्रत बसेर श्रद्धापूर्वक पूजा गरे जीवनमा आर्थिक समृद्धि र सुख–सम्पन्नता प्राप्त हुने विश्वास रहिआएको छ।

शुक्रबार व्रत बस्ने व्यक्तिले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उत्तम मानिन्छ भने अमिलो पदार्थको सेवनलाई वर्जित गरिएको छ। साथै, सेतो कपडा लगाएर पूजा गर्नाले शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन घरमा खीर बनाएर गरिब तथा असहायलाई दान गर्नाले घरमा लक्ष्मीको वास हुने मान्यता छ।

सन्तोषी माताको व्रत बस्ने महिला–पुरुषले मनोकामना पूरा हुने र जीवनमा सुख–शान्ति प्राप्त हुने विश्वास गरिन्छ। साथै, शुक्र ग्रहको दोष शान्त गर्न सेतो वस्तु, सुगन्ध, चिनी, चन्दन, कपुर तथा रेशमी कपडाको दान लाभदायी मानिन्छ। शुक्र ग्रहसँग सम्बन्धित समस्याबाट मुक्ति पाउन शुक्रबारको व्रतलाई विशेष फलदायी मानिन्छ।

































