
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको सैन्य आक्रमण अन्तिम समयमा रोकिएको र शान्ति सम्झौताका लागि सहमति नजिक पुगेको दाबी गरेपछि विश्व वित्तीय तथा ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ।

ट्रम्पले ‘ट्रुथ सोसियल’मार्फत इरानसँगको युद्ध अन्त्यतर्फ उन्मुख भएको र केही दिनभित्र युरोपमा शान्ति सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। साथै, रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्म्युज जलमार्ग पुनः व्यावसायिक जहाजका लागि खुला गरिने उल्लेख गरेका छन्।

घोषणापछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ३.५ प्रतिशतभन्दा बढी घटेर प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको छ भने अमेरिकी डब्लुटिआई पनि करिब ३ प्रतिशतले घटेको छ। तेलको मूल्य घटेसँगै अमेरिकी एस एन्ड पी ५००, डाउ जोन्स र नास्डाकसहित भारत तथा युरोपका प्रमुख सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ।

यद्यपि, इरानले भने कुनै अन्तिम सम्झौता नभएको दाबी गर्दै अमेरिकी दाबीको खण्डन गरेको छ। अमेरिकी सेनाले हर्म्युज क्षेत्रमा इरानी ड्रोन खसालेको विवरणले तनाव पूर्ण रूपमा अन्त्य नभएको संकेत गरे पनि लगानीकर्ताहरूले कूटनीतिक समाधानको सम्भावनाप्रति आशावादी प्रतिक्रिया दिएका छन्।































