
भारतमा सामाजिक सञ्जालमार्फत तीव्र लोकप्रियता कमाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताविरुद्ध राष्ट्रव्यापी युवा आन्दोलन सुरु गरेको छ। आन्दोलनको औपचारिक सुरुआत पुणेस्थित सावित्रीबाई फुले विश्वविद्यालय परिसरमा विशाल र्यालीसहित गरिएको हो, जहाँ सयौँ विद्यार्थी तथा युवा समर्थक सहभागी भएका थिए।

सिजेपीले केही दिनअघि नयाँदिल्लीमा गरेको प्रदर्शनपछि देशभर आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ। हालैको पुणे र्यालीमा सार्वजनिक परीक्षा अनियमितता, प्रश्नपत्र चुहावट र शिक्षा व्यवस्थापनको कमजोरीविरुद्ध कडा विरोध जनाउँदै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ।

आन्दोलनका अगुवा अभिजीत डिप्केले यो अभियानलाई देशव्यापी बनाइने घोषणा गर्दै आगामी दिनमा प्रमुख सहरहरूमा थप प्रदर्शन हुने बताए। उनले युवाको आवाज बेवास्ता गरिए राजधानी नयाँदिल्लीमा ठूलो प्रदर्शन गर्ने चेतावनी दिए।

यो आन्दोलनको सुरुआत सर्वोच्च अदालतका एक न्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको हो, जसलाई युवाले व्यङ्ग्यात्मक रूपमा अपनाउँदै डिजिटल अभियानमा रूपान्तरण गरेका हुन्। अहिले सिजेपी सामाजिक सञ्जालमा करोडौँ फलोअर्ससहित बेरोजगारी, महँगी र भ्रष्टाचारविरुद्ध सशक्त डिजिटल–टु–सडक आन्दोलनका रूपमा उभिएको छ।































