
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको भन्दै अब एकता गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

विराटनगरमा आइतबार संस्थापन इतर पक्षद्वारा आयोजित ‘एकताको ब्यानर’ सहितको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले २०४८ सालमा गिरिजाप्रसाद कोइराला ले पार्टीलाई परिवर्तनको बाटोमा अघि बढाएको स्मरण गर्दै अहिलेको अवस्थाबारे प्रश्न उठाए।
“के गगन थापा ले एक्लै पार्टी चलाउन सक्नुहुन्छ?” भन्ने टिप्पणी गर्दै उनले पार्टीभित्र नेतृत्व र एकताको अभाव रहेको संकेत गरे।


कोइरालाले कोइराला निवास जाँदा भावुक भएको उल्लेख गर्दै आँखाबाट आँसु आएको बताए। “आज कोइराला निवास गएँ, आँसु आयो। कांग्रेस टुक्रिएको छ, टुक्राइएको हो। अदालतले टुक्रा बनायो, त्यो गलत थियो,” उनले भने।
उनले अब पार्टीलाई पुनः एकताबद्ध गरेर अघि बढाउनुपर्नेमा जोड दिँदै शेखर कोइराला ले त्यसको नेतृत्व गरिरहेको बताए।
सोही कार्यक्रममा कृष्णप्रसाद सिटौला ले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा कांग्रेसभित्रको वर्तमान विवाद, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे छलफल भएको थियो।
































