
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृतिको संयुक्त रूपमा विमोचन गरिएको थियो। कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।

कार्यक्रममा साहित्यकार पदमप्रसाद शर्माले कृतिको समीक्षा गर्दै ‘मनका उद्गार’ केवल पुस्तक नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको महत्वपूर्ण दस्तावेज भएको बताए। उनले कृतिको संरचना, विषयवस्तु र प्रस्तुति पाठकलाई आकर्षित गर्ने खालको रहेको उल्लेख गरे।

कृतिमा दुई खण्ड रहेको उल्लेख गर्दै समीक्षक शर्माले पहिलो खण्डमा धौलु वंशको इतिहास, पारिवारिक परिचय र वंशवृक्ष समेटिएको तथा दोस्रो खण्डमा २५ वटा कविता समावेश रहेको जानकारी दिए। कविताहरूले मातृभूमिप्रेम, शिक्षा, राष्ट्रियता, प्रकृतिप्रेम र सामाजिक उत्तरदायित्वका पक्ष उजागर गरेको उनले बताए।
कार्यक्रममा कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्ना दिवंगत माता–पिताप्रतिको श्रद्धा नै लेखनको मुख्य प्रेरणा भएको बताए।
प्रमुख अतिथि नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार पारिवारिक र सांस्कृतिक मूल्य भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यही मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको धारणा राखे।
कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी तथा लेखकका आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

































