
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै विश्व ऊर्जा बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एसियाली बजारको प्रारम्भिक कारोबारमै तेलको मूल्य ओरालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा प्रमुख सूचक ‘ब्रेन्ट क्रुड’ ३.८ प्रतिशतले घट्दै प्रतिब्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ। यस्तै, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ४.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.४० डलर कायम भएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार जुन १९ मा स्विट्जरल्यान्डमा सम्झौताको औपचारिक हस्ताक्षर हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग पुनः खुला हुने र तेलको आपूर्ति सुचारु हुने बताएका छन्।


सन् २०२६ को फेब्रुअरीमा सुरु भएको द्वन्द्वपछि हर्मुज बन्द हुँदा विश्व ऊर्जा आपूर्ति प्रभावित भएको थियो। विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै जाने भएकाले संकट गहिरिएको थियो।
युद्धअघि ७० डलर आसपास रहेको ब्रेन्ट क्रुड मूल्य चरम अवस्थामा १२० डलरसम्म पुगेको थियो। अहिले सम्झौताको खबरले बजारमा केही स्थिरता र राहत देखिएको छ।
































