
नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।

यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँ ले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको वृद्धि र त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। लगातार बढ्दो मूल्यका कारण सुनचाँदी खरिद गर्ने उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।































