
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले रुग्ण उद्योग पुनः सञ्चालन सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारिन्।

मन्त्री कुमारीका अनुसार हेटौँडा कपडा उद्योगलाई पहिलो चरणमै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। साथै, कपडा तथा धागो उद्योगसँगै कपासखेतीलाई पनि एकीकृत रूपमा अघि बढाइने योजना रहेको उनले बताइन्। “कपडा, धागो उद्योग र कपासखेतीलाई एकसाथ अघि बढाउनुपर्छ, यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्,” उनले भनिन्।

उनले सरकारले घरेलु उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्य राखेको उल्लेख गरिन्। यसै क्रममा पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य पनि अघि बढिसकेको जानकारी दिइन्। सरकारले उद्योग क्षेत्रलाई पुनर्जीवन दिँदै रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने उद्देश्य लिएको उनको भनाइ छ।

































