
सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२.८५ प्रतिशत पुगेको छ। एक वर्षअघि सुरु भएको परियोजना तोकिएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

इन्जिनियर अनिल केसीका अनुसार हाल बन्दरगाहमा भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारी आवास, टर्मिनल तथा अन्य संरचना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। परियोजनामा दुई वटा गोदाम, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायत पूर्वाधार पनि निर्माण हुनेछन्।

करिब दुई अर्ब ३७ करोड भारतीय रुपैयाँ लागतको यो परियोजना दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको हो। सन् २०२३ जुन १ मा नेपाल–भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि काम अघि बढाइएको हो।

नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारततर्फ पहुँचमार्ग निर्माण भइरहेको छ। बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार, रोजगारी र समग्र विकासमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ।
































