
गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिद प्रक्रिया परिवर्तन गर्ने तयारी गरिएको बताएका छन्। मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले पोशाक खरिदमा हुने टेन्डर विवाद र अनियमितता रोक्न नयाँ प्रणाली ल्याउने संकेत गरेका हुन्।

मन्त्री गुरुङका अनुसार हाल पोशाक खरिदमा बारम्बार समस्या र विवाद उत्पन्न हुने गरेको छ। यसलाई अन्त्य गर्न अब पोशाकका लागि छुट्याइने रकम सिधै प्रहरीलाई उपलब्ध गराउने र उनीहरूले आफैं आवश्यक पोशाक खरिद गर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ।

‘प्रहरीको पोशाक टेन्डर प्रक्रियामा धेरै इस्यू आउने गरेको सुनिन्छ। जति रकम पोशाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,’ उनले बताए।

सरकारको यो प्रस्ताव लागू भएमा पोशाक खरिदमा पारदर्शिता बढ्ने र ढिलासुस्ती तथा अनियमितता घट्ने अपेक्षा गरिएको छ।
































