
धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९६ GPA हासिल गर्दै नेपालकै उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भएकी छन्। यस उपलब्धिले एसपीए कलेजको शैक्षिक उत्कृष्टतालाई पुनः राष्ट्रिय स्तरमा स्थापित गरेको छ।

निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण नीतिकाले कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै देशभरका अब्बल विद्यार्थीमध्ये आफ्नो स्थान बनाउन सफल भएकी हुन्।
कलेजका प्राचार्य बुधराम चौधरीका अनुसार एसपीए कलेजले विगतदेखि नै प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिँदै आएको छ। नीतिका अवस्थीको सफलता पनि कलेजको गौरवशाली शैक्षिक परम्पराको निरन्तरता भएको उनले बताए। यस उपलब्धिले एसपीए कलेजलाई राष्ट्रिय शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा थप स्थापित गरेको उनको भनाइ छ।


विद्यार्थी नीतिकाका बुवा टेकराज अवस्थीले छोरीको अथक मेहनत, शिक्षकहरूको प्रेरणा र उचित मार्गदर्शनका कारण यो सफलता सम्भव भएको बताए। स्वयं नीतिकाले पनि आफ्नै निरन्तर प्रयाससँगै अनुभवी तथा दक्ष शिक्षकहरूको प्रभावकारी शिक्षण शैली र उचित सल्लाहले यो उपलब्धि हासिल गर्न मद्दत पुगेको प्रतिक्रिया दिएकी छन्।
नीतिकाको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सिंगो सुदूरपश्चिम प्रदेश, विशेषगरी धनगढीका विद्यार्थीहरूका लागि प्रेरणाको विषय बनेको छ। लगातार उत्कृष्ट नतिजा दिँदै आएको एसपीए कलेजले यस वर्ष पनि उल्लेखनीय सफलता हात पार्दै गुणस्तरीय शिक्षाको प्रतीकका रूपमा आफ्नो पहिचान थप मजबुत बनाएको छ।
































