
अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै असार ८ गतेदेखि १९ गतेसम्म लागू हुने गरी गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा गरिनेछ। पछिल्ला दिनमा बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न तथा कक्षामा बस्नसमेत कठिनाइ हुन थालेपछि यस्तो निर्णय गरिएको उनले बताए।

नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित शैक्षिक तालिकाअनुसार विद्यालय पुनः सञ्चालन हुने जनाएको छ। स्थानीय तहले अभिभावक र विद्यालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गरेको छ। यस निर्णयसँगै गर्मीका कारण विद्यार्थीमा देखिन सक्ने स्वास्थ्य जोखिम कम हुने अपेक्षा गरिएको छ।

































