
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित, प्रविधिमैत्री र प्रतिनिधिमूलक बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सबै व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिएका हुन्।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ। देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनलगायत १८ वटा उपसमितिले आ–आफ्नो जिम्मेवारी पूरा गरेका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी विधानमा व्यापक संशोधन गरेको छ। प्रस्तावित संरचनाअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुने, जसमा ९९ जना खुला प्रतिस्पर्धाबाट र ५१ जना समावेशिताका आधारमा मनोनयन गरिने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना प्रतिनिधित्व सुनिश्चित गरिनेछ।


पदाधिकारी संरचनामा पनि महिला सहभागिता अनिवार्य गरिएको छ। सभापति, वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), प्रवक्ता, कोषाध्यक्षसहित विभिन्न पदमा समावेशी व्यवस्था गरिएको छ।
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीले हालसम्म करिब पाँच लाख सदस्य पुर्याएको दाबी गरेको छ। साथै ६१० पालिका, ४ हजार ६३ वडा तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। रास्वपाले यस महाधिवेशनलाई संगठन विस्तार, नीतिगत दिशा निर्धारण र जनसम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।
































