
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

बजेटका स्रोतमा आन्तरिक आय ५५ करोड १० लाख, राजस्व बाँडफाँड ६० करोड ४५ लाख ३६ हजार २०६, संघीय वित्तीय हस्तान्तरण १ अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु वर्षको बचत ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ रहने अनुमान गरिएको छ। उपप्रमुख रानाका अनुसार अघिल्ला वर्षहरूको खर्च प्रगति पनि प्रस्तुत गरिएको छ।
आगामी वर्ष शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत सीपमूलक शिक्षा, नगर गौरवका आयोजना, दीगो र वातावरणमैत्री पूर्वाधार विकास, सिप तथा रोजगार मेला र रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई विशेष महत्व दिइएको छ।


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, आमा बचाउ कार्यक्रम, फुटबल–क्रिकेट विकास, र सिप विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ। त्यस्तै ‘सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘जहाँ खाली त्यहाँ हरियाली’ र ‘हाम्रो धनगढी’ अभियानलाई पनि अघि बढाइने भएको छ।
नगर बस सेवाको विस्तार पनि प्रमुख योजनामा परेको छ। हाल सञ्चालनमा रहेको फूलवारी–धनगढी–अत्तरिया रुटसँगै धनगढी–कनरी–रामपुर–चौमाला, धनगढी–पथरी–बनबेहडा, धनगढी–बेली–जुगेडा–घुईयाँघाट–बंगरा र धनगढी–घोडसुवा–स्याउले रुटमा सेवा विस्तार गरिनेछ।
उपप्रमुख रानाले नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्दै आगामी वर्षलाई सेवा प्रवाह, पूर्वाधार विकास र सामाजिक रूपान्तरणको वर्ष बनाइने बताइन्।































