
कैलालीमा धान रोपाइँको मुख्य सिजन चलिरहेकै बेला डिएपी मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। असार सुरु भएसँगै रोपाइँमा व्यस्त किसानहरूलाई रोपाइँपछि आवश्यक पर्ने रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको छ।

धनगढी–३ की किसान प्रतिभा रानाले सहकारीमार्फत सुलभ मूल्यमा मल नपाउँदा निजी पसलबाट महँगोमा किन्नु परेको बताइन्। अर्का किसान छटन रानाले प्राङ्गारिक मलको कमीका कारण रासायनिक मलमा निर्भरता बढेको र निरन्तर अभावले किसानहरू मारमा परेको गुनासो गरे।
कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रबन्धक नवलसिंह बोगटीका अनुसार हाल डिएपी मलको मौज्दात सकिएको छ। चालु आर्थिक वर्षमा कैलालीमा हजारौँ मेट्रिक टन युरिया, डिएपी र पोटास मल वितरण भए पनि माग अत्यधिक भएकाले आपूर्ति अभाव भएको हो।


उनका अनुसार वितरण केन्द्रको क्षमता भए पनि आपूर्ति ढिलाइले समस्या बढाएको छ। बजारमा डिएपी मल प्रतिक्विन्टल करिब २ हजार २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ भने युरिया मलको खुला बिक्री रोकिएको छ।
मल अभावसँगै वर्षा नहुँदा किसानहरू दोहोरो समस्यामा परेका छन्। किसानहरूले समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्, अन्यथा कृषि उत्पादनमा ठूलो असर पर्ने चेतावनी दिएका छन्।
































