
दुई दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको छ। उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अग्रसरतामा स्थलगत अनुगमन, निरीक्षण र आवश्यक तयारी तीव्र पारिएको छ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि उत्पादन थालेको उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। त्यसयता पटक–पटक सञ्चालनको प्रयास भए पनि सफल हुन सकेको थिएन। यस वर्ष भने सरकारले विशेष चासो देखाउँदै सम्बन्धित निकायमार्फत स्थलगत अध्ययन र मूल्याङ्कन सुरु गरेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगभित्र रहेका अधिकांश मेसिन तथा उपकरण सामान्य मर्मतपछि पुनः सञ्चालन गर्न सकिने अवस्थामा छन्। उनले उद्योग पुनर्जीवनका लागि सरकारी सक्रियता उल्लेखनीय रूपमा बढेको बताए।


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गरिसकेकी छन्। साथै हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि उद्योगको अवस्था अवलोकन गरेको छ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा मन्त्री यादवले हेटौँडा कपडा उद्योग यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको योजना रहेको जानकारी दिएकी थिइन्।
उद्योग बन्द भएपछि २०७५ सालदेखि उद्योग परिसरमा सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। उद्योग पुनः सञ्चालनमा आए स्थानीय रोजगारी सिर्जना, स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक क्षेत्रको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
































