
नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। मंगलबार पनि सुनको भाउ १ हजार ६ सय रुपैयाँले घटेको थियो।

चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य १४० रुपैयाँले घटेको थियो।

पछिल्लो समय सुन–चाँदीको मूल्यमा उल्लेखनीय उतारचढाव देखिँदै आएको छ। गत शुक्रबार मात्रै सुनको भाउ एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको थियो। यसअघि माघ १५ गते सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो भने चाँदी पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो।
लगातारको गिरावटसँगै बजारमा सुन–चाँदीका लगानीकर्ता र उपभोक्ताको चासो बढेको छ।

































