
कञ्चनपुरका सात स्थानीय तहमा मृतक व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरिएको गम्भीर अनियमितता सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १८७ जना मृतक लाभग्राहीको खातामा कुल १५ लाख ७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पठाइएको पाइएको हो।

प्रतिवेदनअनुसार सबैभन्दा बढी अनियमितता कृष्णपुर नगरपालिकामा भेटिएको छ, जहाँ ४९ जना मृतकको खातामा ३ लाख ३८ हजार ८९१ रुपैयाँ निकासा गरिएको छ। भीमदत्त नगरपालिकाले ३३ जना मृतकको खातामा ४ लाख २० हजार १९६ रुपैयाँ, शुक्लाफाँटा नगरपालिकाले ३५ जना मृतकको खातामा २ लाख ५९ हजार १११ रुपैयाँ तथा लालझाडी गाउँपालिकाले १३ जना मृतकको खातामा ९२ हजार २७३ रुपैयाँ भत्ता निकासा गरेको पाइएको छ।
यस्तै, बेलौरी नगरपालिकाले १७ जना मृतकको खातामा १ लाख ३० हजार २५७ रुपैयाँ, वेदकोट नगरपालिकाले २ लाख ६० हजार रुपैयाँ र दोधाराचाँदनी नगरपालिकाले एक मृतकको खातामा ५ हजार ४१९ रुपैयाँ निकासा गरेको प्रतिवेदनमा उल्लेख छ। केही स्थानीय तहमा दोहोरो भत्ता वितरण तथा पुनः विवाह गरिसकेकी विधवाको खातामा समेत भत्ता निकासा भएको पाइएको छ।


सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधिअनुसार लाभग्राहीको मृत्यु भएको दिनसम्मको भत्ता मात्र हकवालाले पाउने व्यवस्था भए पनि समयमै लगत कट्टा नगर्दा मृत्युपछि पनि भुक्तानी जारी रहेको महालेखा परीक्षकले जनाएको छ। कार्यालयले अनियमित रूपमा निकासा गरिएको सम्पूर्ण रकम असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ।
स्थानीय तहहरूले भने वडाबाट प्राप्त सिफारिस र मृत्युदर्ता सम्बन्धी सूचना ढिलो प्राप्त हुँदा त्रुटि भएको स्वीकार गरेका छन्। शुक्लाफाँटा नगरपालिकाले बढी निकासा भएको रकम असुल गरिने जनाएको छ। यो घटनाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीको प्रभावकारी अनुगमन र अभिलेख व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
































