
बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। बुधबार सदरमुकाम मार्तडीमा आयोजित नगर तथा गाउँसभामार्फत स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका हुन्।

बडीमालिका नगरपालिकाले ५१ करोड ६९ लाख १९ हजार, बुढीगङ्गा नगरपालिकाले ५६ करोड ५७ लाख १४ हजार, त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजार तथा बुढीनन्दा नगरपालिकाले ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

यस्तै, हिमाली गाउँपालिकाले ४३ करोड ६८ लाख ३९ हजार, स्वामीकार्तिक खापर गाउँपालिकाले ४४ करोड १६ लाख २ हजार, जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाख, खप्तड छेडेदह गाउँपालिकाले ५३ करोड १५ लाख ६९ हजार तथा गौमूल गाउँपालिकाले ४० करोड ३१ लाख २९ हजार रुपैयाँको बजेट पेश गरेका छन्।

स्थानीय तहहरूले चालु र पुँजीगत खर्चको सन्तुलन मिलाउँदै विकास निर्माण, सेवा प्रवाह सुधार, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा लगानी बढाउने लक्ष्यसहित बजेट ल्याएका छन्। सबै स्थानीय तहका बजेटले समग्र विकास र नागरिकको जीवनस्तर उकास्न केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएका छन्।
































