
भक्तपुरका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। रोगको संक्रमण फैलिन नदिन सम्बन्धित निकायले प्रभावित क्षेत्रका कुखुरा नष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।

पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ स्थित फार्महरूमा बर्डफ्लू पुष्टि भएपछि त्यहाँ पालिएका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ।

यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का कुखुरा फार्ममा पनि संक्रमण देखिएपछि नौ हजार ३७८ कुखुरा नष्ट गरिएको उनले बताए।

जिल्लाभर हालसम्म ४८ हजार १७३ कुखुरा नष्ट गरिएको जनाउँदै डा. श्रेष्ठले संक्रमण पुष्टि भएका फार्महरूमा नियन्त्रण तथा रोकथामका उपायहरू अपनाइएको जानकारी दिए। बर्डफ्लू फैलिन नदिन प्रभावित क्षेत्रको निगरानी बढाइएको तथा किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले रोग नियन्त्रणका लागि थप अनुगमन र परीक्षणलाई निरन्तरता दिएको जनाएको छ।
































