
कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको अभियोगमा पक्राउ परेकी पत्रकार ऐश्वर्य कुँवरले व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै आपत्ती जनाएकी छन् । दलित पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष हिमेश बिकले कुँवरले अन्तजातीय विवाह गरेकै कारण पूर्वाग्रह राखेर मुद्दा चलाइएको बताएका थिए ।

आफ्नो व्यक्तिगत जीवनबारेका समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेकी छन् । ‘मेरो व्यक्तिगत जीवनका बारेमा कसैले बोल्नुपर्दैन् । सञ्चार माध्यममा अन्तरजातीय विवाह गरेको भनेर मेरो व्यक्तिगत चरित्र हत्या गर्नेविद्ध कानुनी उपचार खोज्छु,’ कुँवरले भनिन्, ‘अन्तरजातीय विहे गरेको हो भन्नेहरु मेरो अधिकारका लागि लडेको खै ? मलाई पीडा भएका बेला व्यक्तिगत जीवनबारे जथाभावी नलेखिदिन अनुरोध गर्छु ।’ कुँवरले आफूले अन्तरजातीय विवाह नगरेको पनि दाबी गरेकी छन् ।
वडाध्यक्षमाथि दुव्र्यवहार र हातपात गरेको घटनाबारे यथार्थ नबुझेर पत्रकार महासंघ र प्रेस काउन्सीलले चालेको कदमप्रती पनि कुँवरले असन्तुष्टि पोखेकी छन् । सरकारको नीति विपरीत वडाध्यक्षले होटलमा कार्यक्रम गरिरहेको बारेमा रिर्पोटिङ गर्न पुगेको बताउँदै कुँवरले सोही बेला वडाध्यक्षले आफूमाथि दुव्र्यवहार गर्दै ठेकेदारसँग फिरौती मागेको आरोप लगाएको बताइन् ।


आक्रोशित र उत्तेजित भएर वडाध्यक्ष आफूतिर आएपछि प्रतिकार मात्रै गरेको कुँवरको दाबी छ । आफू हिरासतमा भएका बेला स्पष्टिकरणको मौका समेत नदिएर पत्रकार महासंघले निलम्बन गरि छुुरा हान्ने काम गरेको आरोप लगाइन् ।
प्रेस काउन्सीलले पनि हिरासतमा भएको समयमा स्पष्टिकरण सोधेको बताउँदै कसरी जवाफ हिरासतबाट कसरी जवाफ दिन्छन् ? भन्ने कुराको ख्याल नगरेको बताइन् । आफूमाथि वडाध्यक्षले लगाएको फिरौती मागिएको आरोप पुष्टि गर्न पनि कुँवरले चुनौती दिएकी छन् ।
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो । अभद्र व्यवहार शिर्षकमा जाहेरी दर्ता गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्रकार महासंघ कञ्चनपुरकी सदस्य समेत रहेकी कुँवरलाई घटनापछि निलम्बन गरिएको छ भने प्रेस काउन्सीलले पनि स्पष्टिकरण सोधेको छ ।
































