
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस धनगढीमा विशेष कार्यक्रमका साथ मनाइएको छ। धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, प्राध्यापक हेमराज पन्तलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सात वर्षअघि स्थापना भएको प्रतिष्ठानले नयाँ नेतृत्व आएपछि पहिलोपटक औपचारिक रूपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवर्द्धन र अनुसन्धानमा प्रतिष्ठानले खेलेको भूमिकाबारे चर्चा गरिएको थियो।
मुख्यमन्त्री शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउँदै भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको अध्ययन, अनुसन्धान तथा संरक्षणमा सक्रिय हुन आग्रह गरे। उनले प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।


प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक काम अघि बढाइएको जानकारी दिँदै आगामी दिनमा भाषा, साहित्य, कला र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।
कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई भावी पुस्तासम्म पुर्याउन प्रतिष्ठानले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। स्थापना दिवसका अवसरमा प्रतिष्ठानको सात वर्षे यात्राको समीक्षा गर्दै आगामी कार्यदिशा र सांस्कृतिक संरक्षणका सम्भावनाबारे समेत छलफल गरिएको थियो।
#ALLNEPAL #Sudurpashchim #PragyaPratisthan #Culture #Literature
































