
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह हुन दुई दिन बाँकी रहँदा पदक वितरणसम्बन्धी विवाद अदालतसम्म पुगेको छ। स्नातकोत्तर तह उत्तीर्ण छात्रा रेखा भट्टले पदक छनोट प्रक्रियामा आफूलाई अन्याय गरिएको दाबी गर्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट दायर गरेकी छन्।

भट्टले विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायको डीन कार्यालय, स्कुल अफ इन्जिनियरिङ, परीक्षा नियन्त्रण कार्यालय तथा उपकुलपतिको कार्यालयलाई विपक्षी बनाएकी छन्। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले पदकसम्बन्धी प्रकाशित सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। साथै दुवै पक्षलाई असार १२ गते छलफलका लागि उपस्थित हुन निर्देशन दिइएको छ।

विश्वविद्यालयले असार १ गते ११ जना पदक प्राप्त गर्ने विद्यार्थीको सूची सार्वजनिक गरेको थियो भने असार १० गते संशोधित सूचीमा थप चार जनाको नाम समावेश गरेको थियो। रिटकर्ताले आफूलाई अन्यायपूर्वक सूचीबाट बाहिर राखिएको दाबी गरेकी छन्।

यता परीक्षा नियन्त्रण कार्यालयले भने भट्टले निर्धारित समयभित्र शोधप्रबन्ध (थिसिस) पेश नगरेकाले प्रारम्भिक सूचीमा नाम समावेश नगरिएको जनाएको छ। दीक्षान्त समारोहअघि उत्पन्न भएको यो विवाद अदालतसम्म पुगेपछि विश्वविद्यालयको पदक छनोट तथा प्रशासनिक प्रक्रियामाथि पुनः प्रश्न उठेको छ।
































