
डडेल्धुरा: सुदूरपश्चिमका सात पहाडी जिल्लाका नागरिकको उपचारको प्रमुख भरोसा मानिएको डडेल्धुरा अस्पतालको सेवा गुणस्तरमा चिन्ताजनक गिरावट देखिएको छ । अस्पतालले चालु आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा ५७ प्रतिशत मात्र अंक प्राप्त गरेको छ, जुन गत आर्थिक वर्षको ७३ प्रतिशतको तुलनामा १६ प्रतिशतले कम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा डडेल्धुरा अस्पताल देशभरका १२ वटा अस्पतालमध्ये ७३ अंकसहित तेस्रो स्थानमा रहेको थियो । तर एक वर्ष नबित्दै अस्पतालको प्रदर्शन खस्किएर ५७ प्रतिशतमा झर्न पुगेको छ ।
झन् विडम्बनाको विषय के छ भने अस्पतालले पहिलोपटक ११औँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पाएको अवधिमै सेवा मापदण्डमा १६ प्रतिशत गिरावट देखिएको हो । अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा २०८२ साउनमा पदभार ग्रहण गरेकी थिइन् । उनको नेतृत्वमा अस्पतालको सेवा र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिए पनि तथ्यांकले भने उल्टै अवस्था देखाएको छ ।


सात पहाडी जिल्लाका बिरामीलाई सेवा दिँदै आएको उक्त अस्पतालमा सेवा प्रवाह, व्यवस्थापन र गुणस्तर सुधार हुने अपेक्षा गरिरहेका सर्वसाधारण तथा सरोकारवालाहरू अहिले निराश बनेका छन् । अस्पतालले प्राप्त गरेको न्यूनतम सेवा मापदण्डको अंकमा आएको तीव्र गिरावटले अस्पताल प्रशासनको कार्यसम्पादनमाथि नै प्रश्न उठाएको छ।
सरोकारवालाहरूका अनुसार अस्पतालले प्रदेशकै रेफरल अस्पतालको भूमिका निर्वाह गरिरहे पनि सेवा गुणस्तरमा आएको ह्रासले बिरामीको विश्वास कमजोर बनाएको छ । अस्पतालको नेतृत्व बलियो हुँदा सेवा पनि बलियो हुने अपेक्षा गरिए पनि पछिल्लो मूल्यांकनले त्यसको विपरीत नतिजा देखाएको उनीहरूको भनाइ छ ।
अस्पतालको न्यूनतम सेवा मापदण्ड किन खस्कियो, कुन सूचकमा कमजोरी देखियो र सुधारका लागि अस्पताल प्रशासनले के योजना बनाएको छ भन्ने विषयमा प्रमुख मेसु डा. देवकोटासँग हामीले प्रतिक्रिया लिन खोजेका थियौँ । तर उनको अफिसियल मोबाइल नम्बर स्वीचअफ रहेकाले सम्पर्क हुन सकेन। देशकै ‘विशिष्ट विशेषज्ञ’ डडेल्धुरा अस्पतालको सेवा गुणस्तर एकै वर्षमा १६ प्रतिशतले घट्नुले अस्पताल प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ।
































