
देशका अधिकांश क्षेत्रमा मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहे पनि आगामी चारदेखि पाँच दिनभित्र ती क्षेत्रमा पनि मनसुन विस्तार हुने सम्भावना रहेको छ।

हाल हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ। साथै, कोशी र मधेशका तराई तथा बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रहने तथा विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका केही पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
































