
कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण मागेको छ। पार्टीको सुदूरपश्चिम प्रदेश समितिले उनलाई २४ घण्टाभित्र लिखित रूपमा जवाफ पेश गर्न निर्देशन दिएको हो।

प्रदेश समितिका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सम्पन्न महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको आरोप लगाइएको छ। साथै, उनीमाथि संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको आरोपसमेत उल्लेख गरिएको छ।
रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन गएका कारण गिरी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभामा अनुपस्थित भएको पनि जनाइएको छ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाको उपाध्यक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक रहने व्यवस्था छ। यस्तो महत्वपूर्ण जिम्मेवारी वहन गर्ने पदाधिकारी गाउँसभामा अनुपस्थित भएपछि त्यस विषयले पनि चर्चा पाएको छ।
पार्टीले तोकिएको समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ भने त्यसपछि आवश्यक निर्णय लिइने संकेत गरेको छ।
































