
अत्तरियाः गोदावरी नगरपालिकामा एकल महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले व्यावसायिक बेसार खेतीसम्बन्धी तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ। शैलेश्वरी रिसर्च एण्ड कन्सल्टिङ प्रालिको आयोजना तथा गोदावरी नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको तालिम नगरका दुई स्थानमा एकसाथ आयोजना गरिएको हो।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीका अनुसार तालिमको मुख्य उद्देश्य एकल महिलालाई सीपमूलक कृषि व्यवसायतर्फ आकर्षित गर्दै आयआर्जनका अवसर सिर्जना गर्नु हो। अत्तरियामा आयोजित उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदादेवी रोकायाले तालिमले एकल महिलालाई व्यावसायिक खेतीमार्फत आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले तालिमपछि समूह बनाएर व्यवसाय सुरु गरे नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइन्।
वडा नम्बर ३ का वडा अध्यक्ष चेतराज अवस्थीले समाजमा एकल महिलाले भोग्दै आएका चुनौतीको चर्चा गर्दै अब उनीहरू सीप र व्यवसायमार्फत सशक्त बन्नुपर्नेमा जोड दिए। कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष मन्दोदरी भण्डारीको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य गोदावरी नगर सचिव जानकी बोहराले राखेकी थिइन्।


तालिममा प्रदेश अध्यक्ष भगवती हमाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रभा हमाल, कृषि शाखा प्रमुख तथा प्रशिक्षक नन्दी मल्ल, हेमराज भट्ट र करुणा चन्दले प्रशिक्षण दिनेछन्। अत्तरियामा सञ्चालित तालिममा वडा नम्बर २, ३, ५, १० र ११ का एकल महिलाहरू सहभागी छन्।
यसैबीच, वडा नम्बर ८ को जमुना नगरमा पनि अर्को तीन दिने तालिम सुरु भएको छ। प्रदेश अध्यक्ष भगवती हमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदादेवी रोकाया प्रमुख अतिथि तथा वडा नम्बर ७ का अध्यक्ष कलापति साउँद विशिष्ट अतिथिका रूपमा सहभागी थिए। उक्त तालिममा वडा नम्बर ४, ६, ७, ८ र ९ का एकल महिलाहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार यस्ता तालिमले महिलाको आर्थिक सशक्तीकरणसँगै व्यावसायिक कृषि प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
































