
अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा गरेको हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव फेरि चर्किएको छ। इरानले शनिबार अमेरिकी सेनासँग सम्बन्धित विभिन्न लक्ष्यहरूमा ‘प्रतिरक्षात्मक’ भन्दै जवाफी हमला गरेको जनाएको छ। यद्यपि, आक्रमण कहाँ गरिएको हो भन्ने विवरण तेहरानले सार्वजनिक गरेको छैन।

इरानले आफ्ना तटीय निगरानी केन्द्रहरूमा भएको अमेरिकी आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रविपरीतको कार्य भन्दै त्यसको जवाफ दिएको दाबी गरेको छ। अमेरिकी सेनाले भने यसअघि स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजमाथि भएको ड्रोन आक्रमणको प्रतिक्रियास्वरूप आफूले हवाई कारबाही गरेको जनाएको थियो।
यसबीच, अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइनले आफ्नो भूमिमा इरानी ड्रोन आक्रमण भएको दाबी गर्दै त्यसको कडा निन्दा गरेको छ। बहराइनले यसलाई सार्वभौमसत्तामाथिको आक्रमण भन्दै आत्मरक्षाको अधिकार सुरक्षित रहेको जनाएको छ।


अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धविराम सम्झौताको पूर्ण पालना गरेको दाबी गर्दै इरानले हिंसाको बाटो रोजे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्। अर्कोतर्फ, इरानले स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन नियमन गर्ने अधिकार आफूमा रहेको अडान दोहोर्याएको छ।
तनावकै बीच इजरायल र लेबनानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता भए पनि हिजबुल्लाहले त्यसमा सहयोग नगर्ने घोषणा गरेको छ। यस घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ।































