मनसुन थप सक्रिय हुँदै: सुदूरपश्चिमसहित बाँकी क्षेत्रमा २–३ दिनभित्र विस्तार हुने, भारी वर्षा र हावाहुरीको चेतावनी

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव रहेको छ भने गण्डकी र लुम्बिनीका बाँकी भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी २–३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र कोशीको तराई तथा मधेसका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

nawajiwan

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै तराईका विभिन्न क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।