दलित समुदायमा वैदिक संस्कार प्रवर्द्धन गर्ने ज्योतिषाचार्य गणेशप्रसाद पन्त सम्मानित

Image
Nisarga Hospital

दलित समुदायमा वैदिक हिन्दु सनातन संस्कारको प्रवर्द्धन गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याएका ज्योतिषाचार्य गणेशप्रसाद पन्तलाई बैतडीको पुर्चौडी नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै पन्तको दीर्घकालीन सामाजिक योगदानको कदर गरेको हो।

CP Hospital Dhangadhi

नगरप्रमुख दीपकबहादुर बमले जातीय विभेद अन्त्यका लागि रचनात्मक रूपमा कार्य गरिरहेका व्यक्तिहरूलाई सम्मान गर्नु नगरपालिकाको दायित्व भएको बताए। सामाजिक सद्भाव, समानता र सकारात्मक परिवर्तनका लागि पन्तले पुर्‍याएको योगदान अनुकरणीय रहेको उनको भनाइ थियो।

बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखाली निवासी संस्कार शिरोमणि ज्योतिषाचार्य पन्तले २७ वर्षअघि दलित बस्तीबाट वैदिक कर्मकाण्डको सुरुआत गरेका थिए। त्यसयता उनले दलित समुदायसहित सबै वर्गका नागरिकका लागि सप्ताह, व्रतबन्ध, विवाह, न्वारान, गृहप्रवेश, वास्तुपूजालगायतका वैदिक संस्कार सम्पन्न गराउँदै आएका छन्।

nawajiwan
Attariya Hospital

स्थानीय शिक्षक दिनेश नागारीले पन्त समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै नगरपालिकाको सम्मानले यस्ता सामाजिक अभियानलाई थप ऊर्जा मिल्ने बताए।

सम्मान कार्यक्रममा उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली, नगर प्रवक्ता धीरेन्द्र बम, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नगरपालिकाले सामाजिक सद्भाव र विभेदमुक्त समाज निर्माणमा योगदान दिने व्यक्तिलाई प्रोत्साहन गर्ने नीति निरन्तर अघि बढाउने जनाएको छ।