जम्मू–कश्मीरमा सेना–प्रहरी आमनेसामने: सरकारी गाडी विवादले बढायो तनाव, सेनाविरुद्ध हत्या प्रयाससहित १४ धारामा मुद्दा

Image
Nisarga Hospital

जम्मू–कश्मीरको किश्तवार जिल्लामा भारतीय सेना र स्थानीय प्रहरीबीच सरकारी गाडी नियन्त्रणको विषयलाई लिएर उत्पन्न विवादले सुरक्षा संयन्त्रभित्रै गम्भीर तनाव सिर्जना गरेको छ। जुन २४ मा सुरु भएको घटनापछि दुवै पक्ष आमनेसामने भएका छन् भने स्थानीय प्रहरीले सेनाका अधिकृत र जवानविरुद्ध हत्या प्रयाससहित १४ वटा धारामा मुद्दा दर्ता गरेको छ।

CP Hospital Dhangadhi

घटना सेनाका एक अधिकृतले प्रयोग गरिरहेको सरकारी टोयोटा हाइलक्स एसयूभीलाई यातायात विभागका अधिकारीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि सुरु भएको बताइएको छ। उक्त गाडी अठोली प्रहरी चौकीमा लगिएपछि विवाद झन् चर्किएको थियो।

प्रत्यक्षदर्शीका अनुसार किश्तवारका उपायुक्तको काफिला साँघुरो सडकमा रोकिएपछि प्रहरी अधिकारीले सेनाको गाडी पछाडि सार्न आग्रह गरेका थिए। त्यसक्रममा सेना र प्रहरीबीच भनाभन सुरु भएको थियो। स्थानीय प्रशासनले सेना अधिकृतले गाडीका कागजात देखाउन र नागरिक प्रशासनको निर्देशन मान्न अस्वीकार गरेपछि स्थिति बिग्रिएको दाबी गरेको छ। यद्यपि, सेनासम्बद्ध स्रोतहरूले सबै कागजात हुँदाहुँदै पनि गाडी गैरकानुनी रूपमा नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।

nawajiwan
Attariya Hospital

प्रहरीका अनुसार सोही साँझ सेनाका जवानहरू प्रहरी चौकी पुगेर गाडी फिर्ता लैजान खोज्दा हातपात भएको थियो। त्यसपछि हत्या प्रयास, सरकारी काममा अवरोध, दंगा, गैरकानुनी जमघटलगायत १४ धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ। मुद्दामा एक कर्नेल, एक मेजरसहित अन्य सैनिक र ३०–४० अज्ञात व्यक्तिलाई प्रतिवादी बनाइएको छ।

यद्यपि, सशस्त्र बल विशेष अधिकार ऐन (AFSPA) अन्तर्गत कानुनी संरक्षणका कारण तत्काल गिरफ्तारी हुने सम्भावना न्यून रहेको बताइएको छ। भारतीय सेनाले घटनाबारे संस्थागत तथा संयुक्त अनुसन्धान भइरहेको जनाउँदै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।