
आर्थिक रूपमा समृद्ध र अत्याधुनिक पूर्वाधारले सुसज्जित खाडीका कुवेत, कतार र बहराइनमा हालसम्म आन्तरिक लामो दूरीका यात्रुवाहक रेल सेवा सञ्चालनमा छैनन्। सानो भौगोलिक आकार, सीमित जनसंख्या र निजी सवारी तथा हवाई यातायातमा निर्भरता यसको प्रमुख कारण मानिन्छ।

तर अब खाडी क्षेत्रको यातायात प्रणालीमा ऐतिहासिक परिवर्तन आउने भएको छ। खाडी सहयोग परिषद् (GCC) का ६ सदस्य राष्ट्रलाई एउटै रेल सञ्जालमा जोड्ने २,१७७ किलोमिटर लामो ‘जीसीसी रेलवे परियोजना’ तीव्र गतिमा अघि बढिरहेको छ। गल्फ रेलवे अथोरिटीका अनुसार परियोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ भने सन् २०३० सम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सन् २००९ मा अवधारणा अघि सारिएको यस परियोजनाले कुवेत, साउदी अरब, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानलाई प्रत्यक्ष रेलमार्फत जोड्नेछ। यात्रुवाहक रेल प्रतिघण्टा २०० किलोमिटर र मालवाहक रेल ८०–१२० किलोमिटरको गतिमा सञ्चालन हुनेछन्। दम्माम–कतार यात्रा करिब एक घण्टामै पूरा हुने अपेक्षा गरिएको छ।

समुद्रमाथि विशेष पुल र रेलमार्ग निर्माण हुने यस परियोजनाले व्यापार, पर्यटन, क्षेत्रीय आर्थिक एकीकरण र वातावरण संरक्षणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। विशेषगरी कार्बन उत्सर्जन घटाउँदै दिगो यातायात प्रणाली विकासमा यस परियोजनालाई खाडी क्षेत्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
































