
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री निवास परिसरमा उनले हेलमेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।

घटनापछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली मुख्यमन्त्री निवासमै पुगेर ५०० रुपैयाँ जरिवानाको चिट थमाएको हो। चिटमा ‘हेलमेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ। यस घटनाले कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।

मुख्यमन्त्रीको हेलमेटबिनाको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमार्फत सार्वजनिक गरेका थिए। पछिल्लो समय दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि थप चर्चा र आलोचना भएको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्छ। ऐनअनुसार पहिलो पटक हेलमेट नलगाई सवारी चलाएको अवस्थामा ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ। यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।































