
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। केही समयअघि मध्यपूर्वमा अमेरिका–इरान तनावका कारण प्रतिब्यारेल १२० डलरसम्म पुगेको मूल्य अहिले घटेर करिब ७० डलरको हाराहारीमा झरेको छ। पछिल्लो विवरणअनुसार ब्रेन्ट क्रुड प्रतिब्यारेल ७०.६० डलर, डब्लुटिआई ६७ डलर र मर्भन क्रुड करिब ६५ डलरमा कारोबार भइरहेको छ।

बजार विश्लेषकका अनुसार अमेरिका र इरानबीच शान्ति वार्ता सकारात्मक दिशामा अघि बढ्नु, भू–राजनीतिक जोखिम घट्नु तथा भविष्यमा तेल आपूर्ति सहज हुने अपेक्षाले मूल्यमा दबाब परेको हो। कतारको दोहामा जारी द्विपक्षीय वार्ताले पनि बजारमा सकारात्मक संकेत दिएको छ।

यस्तै, ओपेक प्लस राष्ट्रहरूले उत्पादन बढाउनु, साउदी अरब र संयुक्त अरब इमिरेट्सको पर्याप्त आपूर्ति क्षमता तथा विभिन्न देशहरूले रणनीतिक तेल भण्डारण विस्तार गर्नु पनि मूल्य घट्नुका प्रमुख कारण मानिएको छ।

विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको यो गिरावटले नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकलाई इन्धन आयात लागत घटाउन मद्दत पुग्नेछ। यसको प्रभाव आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्यमा राहत र महँगी नियन्त्रणमा समेत सकारात्मक देखिन सक्ने अपेक्षा गरिएको छ।































