सुदूरपश्चिममा एचआईभी नियन्त्रणको चुनौती : उपचारभन्दा ठूलो समस्या सामाजिक विभेद, सञ्चारमाध्यमको भूमिकामा जोड

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमण अझै पनि सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहेको छ। उपचार सेवा विस्तार, निःशुल्क एआरटी औषधि, परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि सामाजिक लाञ्छना, भेदभाव र गोपनीयता भंग हुने डरका कारण धेरै संक्रमित आफ्नै पालिकामा उपचार गराउन हिच्किचाउने गरेको तथ्य सार्वजनिक भएको छ।

CP Hospital Dhangadhi

यही चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले धनगढीमा ‘एचआईभी, हेपाटाइटिस र यौनरोग सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि पत्रकार अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ। कार्यक्रममा स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका प्रमुख खगेन्द्र बम, केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भारत शाहलगायत सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा तथ्यमा आधारित, वैज्ञानिक र मानवअधिकारमैत्री समाचार सम्प्रेषणमार्फत समाजमा रहेको भ्रम र विभेद हटाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइयो।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ३ हजारभन्दा बढी एचआईभी संक्रमित पहिचान भएका छन्। तीमध्ये २ हजारभन्दा बढी नियमित एआरटी औषधि सेवन गरिरहेका छन् भने केही अझै उपचारको पहुँचबाहिर छन्। सबैभन्दा बढी संक्रमित कैलाली र कञ्चनपुरमा रहेका छन्। खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क, लागूऔषधको सुई साझा प्रयोग तथा जनचेतनाको कमी संक्रमणका प्रमुख कारण मानिएको छ।

nawajiwan
Attariya Hospital

स्वास्थ्यकर्मीका अनुसार नियमित एआरटी औषधि सेवन गरे एचआईभी संक्रमितले सामान्य जीवन बिताउन सक्छन्, शरीरमा भाइरसको मात्रा न्यून रहन्छ र संक्रमण सर्ने जोखिम पनि उल्लेखनीय रूपमा घट्छ। त्यसैले संक्रमितको गोपनीयता संरक्षण, विभेद अन्त्य, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र समयमै उपचारमा पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ३ करोड ९९ लाख तथा नेपालमा करिब ३० हजार मानिस एचआईभीसँग बाँचिरहेका छन्। स्वास्थ्य विज्ञहरूले औषधिसँगै सामाजिक सोचमा परिवर्तन, सम्मानजनक व्यवहार र जिम्मेवार सञ्चार अभ्यासले मात्रै एचआईभी नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउन सकिने बताएका छन्।