
बैतडीमा पछिल्लो तीन आर्थिक वर्षमा भएका ३४ सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने १२६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकअनुसार प्रत्येक वर्ष सवारी दुर्घटनाको संख्या र त्यसबाट हुने मानवीय क्षति बढ्दो क्रममा देखिएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा ८ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए। त्यसपछिको आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या १० पुगेको र ११ जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए। उक्त अवधिमा २५ जना घाइते भएका थिए।
चालु आर्थिक वर्ष २०८२/०८३ मा भने दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढेको छ। हालसम्म १६ दुर्घटनामा २९ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्।
गत शुक्रबार मात्रै पाटन नगरपालिका–९ गैराखानमा भएको बस दुर्घटनामा २४ जना घाइते भएका थिए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापरवाही, सवारीसाधनको प्राविधिक खराबी, साँघुरा तथा जीर्ण सडक र प्रतिकूल मौसमजस्ता कारणले दुर्घटना बढिरहेका छन्। दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र सम्बन्धित निकाय सबैले सडक सुरक्षा नियमको प्रभावकारी पालना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।





























