
अत्तरियाः भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर नाकामा तालिमप्राप्त प्रहरी कुकुर (के–९) परिचालन गरी विशेष सुरक्षा चेकजाँच गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीअन्तर्गत के–९ शाखाबाट लागूऔषध तथा विस्फोटक पदार्थ पत्ता लगाउन तालिमप्राप्त कुकुरको प्रयोग गर्दै सोमबार सवारीसाधन र यात्रुको निगरानी गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार नियमित सुरक्षा अभियानअन्तर्गत दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनको विस्तृत जाँच गरिएको छ। चेकजाँचका क्रममा विस्फोटक पदार्थ, लागूऔषध, अवैध सामान तथा अन्य शंकास्पद वस्तु पहिचान गर्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप सुदृढ बनाइएकाले यात्रुलाई आवश्यक परिचयपत्र साथमा राख्न र सुरक्षा जाँचमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबीच समन्वय गरी सीमा क्षेत्रमा निगरानी बढाइएको पनि जनाइएको छ।

प्रहरीका अनुसार त्रिनगर नाकामात्र नभई सुदूरपश्चिमका विभिन्न सीमा नाका, बसपार्क तथा अन्य संवेदनशील स्थानहरूमा पनि दैनिक रूपमा नियमित सुरक्षा चेकजाँच र निगरानी अभियान निरन्तर सञ्चालन भइरहेको छ। यसबाट सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सर्वसाधारणको सुरक्षामा थप प्रभावकारिता आउने विश्वास प्रहरीले व्यक्त गरेको छ।
































