
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२, तेघरीस्थित सैनिक आवासीय महाविद्यालयले शिक्षणको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक शिक्षाका विषयगत शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

चालु शैक्षिक सत्रको सुरुदेखि नै विभिन्न विषयका शिक्षकलाई लक्षित गर्दै चरणबद्ध रूपमा तालिम सञ्चालन गर्दै आएको महाविद्यालयले यसपटक सामाजिक शिक्षाका शिक्षकलाई समेटेको हो। तालिममा महाविद्यालयका १३ जना शिक्षकसँगै कैलाली र कञ्चनपुरका निजी तथा सरकारी विद्यालयका शिक्षकहरू, साथै नेपाल पुलिस स्कुल धनगढी र एपीएफ स्कुल झलारीका शिक्षकहरूको सहभागिता रहेको थियो।
महाविद्यालयका अनुसार प्रविधिमैत्री शिक्षण, प्रयोगात्मक सिकाइ र प्रभावकारी शिक्षण पद्धतिको विकासमार्फत विद्यालयमा एकरूपता तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रमले सुरक्षा निकायका विद्यालयको अनुशासन, निजी विद्यालयको आधुनिक व्यवस्थापन र सरकारी विद्यालयले भोगिरहेका चुनौतीबारे साझा अनुभव आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरेको जनाएको छ।


सहभागी शिक्षकहरूले तालिमबाट पेशागत सम्बन्ध थप सुदृढ हुनुका साथै व्यवहारिक शैक्षिक समस्या समाधान र विद्यालयबीच संस्थागत सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
तालिमका मुख्य प्रशिक्षक धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश भट्ट रहेका थिए। महाविद्यालयले यसअघि गणित, विज्ञान र नेपाली विषयका शिक्षकहरूका लागि पनि यस्तै क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिसकेको जनाएको छ।
































