
खुटिया–दिपायल द्रुतमार्ग निर्माणको मागलाई थप सशक्त बनाउन धनगढी उपमहानगरपालिकाले हस्ताक्षर अभियानका लागि शैलेश्वरी मन्दिर गुठीलाई ११ वटा रजिस्टर सहयोग गरेको छ। सोमबार नगर प्रमुख गोपाल हमालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र वडा नं. ३ का अध्यक्ष राजबहादुर ऐरले गुठीका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका पुजारी प्रेमसागर भट्टलाई रजिस्टर हस्तान्तरण गरेका हुन्।

जेठ शुक्लपूर्णिमादेखि शैलेश्वरी मन्दिर परिसरबाट द्रुतमार्ग निर्माणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन हुँदै आएको छ। उक्त अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले आवश्यक रजिस्टर उपलब्ध गराएको जनाएको छ।

द्रुतमार्ग निर्माणले डोटीसहित सुदूरपश्चिमको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ करिब दुई लाख २० हजार नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ। आगामी माघमा आयोजना हुने कोटीहोम महायज्ञमा पनि हस्ताक्षर संकलनलाई निरन्तरता दिने तयारी गरिएको छ।

































