
कैलालीको टीकापुर अस्पतालमा कर्मचारीबीच भएको विवाद कुटाकुटमा परिणत भएको छ। मंगलबार दिउँसो अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथि फिजियोथेरापिस्ट अनिल तिवारीले कुटपिट गरेको आरोप लागेको हो।

बजगाईले प्रशासनमा कामका सिलसिलामा गएका बेला तिवारीले एक्कासि आफूमाथि आक्रमण गरेको दाबी गर्दै कारबाहीको मागसहित अस्पताल प्रशासनमा निवेदन दिएका छन्।

यता तिवारीले भने प्रयोगशालामा भएको कथित अनियमितताबारे प्रशासनसँग कुरा गर्ने क्रममा बजगाईले गाली–गलौज गरेपछि आफूले प्रतिक्रिया जनाएको दाबी गरेका छन्। उनले बिदाका दिन पनि प्रयोगशाला सञ्चालन गरेको देखाएर भत्ता लिने तथा रिएजेन्ट महँगो मूल्यमा खरिद गर्ने आरोपसमेत बजगाईमाथि लगाएका छन्।

घटनापछि अस्पताल प्रशासनले प्राप्त निवेदनका आधारमा सिसिटीभी फुटेजसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्राचार गरेको जनाएको छ। सिसिटीभी फुटेजमा तिवारीले बजगाईमाथि आक्रमण गरेको र त्यसपछि बजगाईले पनि प्रतिकार गरेको देखिएको छ। त्यसपछि अन्य कर्मचारीले हस्तक्षेप गर्दै दुवैलाई छुट्याएका थिए।
































