
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले पहिलो पटक ‘सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुने आयोजकले जनाएको छ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष भीम बिष्टले प्रतियोगिता एकल दोहोरी गायनमा आधारित हुने जानकारी दिए। उनका अनुसार गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन् भने आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले नै गर्नेछ।
प्रतियोगितामा सबै उमेर समूहका इच्छुक कलाकारले भाग लिन सक्नेछन्। सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क तिरी परिचय खुल्ने कागजातसहित नाम दर्ता गर्नुपर्नेछ।


प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट प्रस्तुति दिए पनि स्थान हासिल गर्न नसक्ने प्रतिभालाई विशेष प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्षको पनि सहभागिता रहनेछ। सुदूरपश्चिमका नौ जिल्लाका कलाकारहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने प्रतिष्ठानका कैलाली र कञ्चनपुर शाखा सह–आयोजकका रूपमा रहेका छन्।
































