
सामाजिक सञ्जालमा लाइक, भ्यु र डलर कमाउने उद्देश्यले ‘प्र्याङ्क भिडियो’ बनाउने नाममा सर्वसाधारणलाई दुःख दिने, अपमानित गर्ने र मानसिक तनाव सिर्जना गर्ने गतिविधि सुदूरपश्चिममा बढ्दो देखिएको छ। विशेषगरी कैलालीको धनगढी, अत्तरिया तथा आसपासका बजार क्षेत्रमा यस्ता घटना बढेपछि नागरिकले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पछिल्लो समय ‘योगेश थापा’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक भएका विभिन्न भिडियोमा सडकमा हिँडिरहेका सर्वसाधारणलाई बिना सहमति जिस्क्याउने, झुक्याउने, डर देखाउने र सार्वजनिक रूपमा अपमानित गर्ने दृश्य देखिन्छ। ती भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्। अत्तरिया बजारका सर्वसाधारणलाई लक्षित गरी यस्ता सामग्री बनाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
केही भिडियो प्रहरीकै उपस्थितिमा खिचिएको देखिए पनि हालसम्म प्रभावकारी कारबाही नभएको भन्दै नागरिकले प्रश्न उठाएका छन्। लोकप्रियता र आर्थिक लाभका लागि नागरिकको सम्मान, गोपनीयता र व्यक्तिगत अधिकारमाथि खेलबाड भइरहेको उनीहरूको गुनासो छ।


यस्ता गतिविधि कुनै एक व्यक्तिमा मात्र सीमित नभई सुदूरपश्चिमका विभिन्न बजार क्षेत्रमा फैलिँदै गएको देखिन्छ। बिना सहमति भिडियो खिच्ने, अप्ठ्यारो परिस्थितिमा पार्ने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिले सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन्।
करिब एक साताअघि रुकुम पश्चिममा पनि ‘प्र्याङ्क भिडियो’को नाममा सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका थिए। त्यसपछि गृहमन्त्रीले यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए। अब कैलाली प्रहरीले यस्ता गतिविधिमाथि कस्तो कदम चाल्छ भन्ने विषयलाई नागरिकले चासोका साथ हेरिरहेका छन्।
































