सुदूरपश्चिममै पहिलो साइलेज मेसिन कृष्णपुरमा सञ्चालन, किसानलाई निःशुल्क सेवा; दूध उत्पादन बढ्ने विश्वास

Image
Nisarga Hospital

कृष्णपुर (कञ्चनपुर): कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक अत्याधुनिक ‘साइलेज (घाँस प्रशोधन तथा प्याकिङ) मेसिन’ सञ्चालनमा ल्याएको छ। पशुपालन व्यवसायलाई आधुनिक, व्यवस्थित र आत्मनिर्भर बनाउने लक्ष्यसहित सुदूरपश्चिम प्रदेश पशुपन्छी निर्देशनालयसँगको साझेदारीमा वडा नं. ५ मा स्थापना गरिएको उक्त मेसिनको नगर प्रमुख हेमराज ओझाले औपचारिक रूपमा उद्घाटन गरेका छन्।

CP Hospital Dhangadhi

नगरपालिकाका अनुसार यो प्रविधि सञ्चालनमा आएपछि किसानहरूले आफ्नै खेतबारीमा उत्पादन भएको हरियो घाँस तथा दूधे मकैलाई वैज्ञानिक विधिबाट प्रशोधन गरी लामो समयसम्म सुरक्षित राख्न सक्नेछन्। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त घाँस खेर जाने समस्या अन्त्य गर्दै हिउँद तथा सुख्खा मौसममा पशुका लागि आवश्यक हरियो आहार सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्राविधिकका अनुसार साइलेज मेसिनबाट तयार गरिने करिब ६० केजी तौलका प्याकेट उचित रूपमा सुरक्षित राखिएमा एकदेखि दुई वर्षसम्म प्रयोगयोग्य रहन्छन्। प्याकेजिङमा प्वाल नपर्ने र मुसालगायत अन्य क्षति नपुगेमा यसको गुणस्तर कायम रहने बताइएको छ।

nawajiwan

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकालाई पशुपालनमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजनाअन्तर्गत यो प्रविधि भित्र्याइएको बताए। उनले किसानलाई घाँस तथा दूधे मकैको उत्पादनमा ध्यान दिन आग्रह गर्दै साइलेज बनाउने र प्याकिङ गर्ने सम्पूर्ण सेवा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने घोषणा गरे।

Attariya Hospital

उनका अनुसार वैज्ञानिक रूपमा तयार गरिएको साइलेजले पशुलाई वर्षभरि गुणस्तरीय आहार उपलब्ध गराउने भएकाले पशुको स्वास्थ्यमा सुधार आउने, उत्पादन क्षमता बढ्ने र दूध उत्पादनमा करिब १० प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ। यसबाट पशुपालनको लागत घट्नुका साथै किसानको आम्दानी बढ्न सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

स्थानीय किसानहरूले पनि यो प्रविधिले पशुपालन व्यवसायलाई नयाँ ऊर्जा दिएको बताएका छन्। वर्षायाममा खेर जाने घाँसलाई संरक्षण गरेर आवश्यक समयमा प्रयोग गर्न सकिने भएकाले अब पशु आहारको अभाव हुने चिन्ता कम भएको उनीहरूको भनाइ छ।

स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा सञ्चालनमा आएको यो अत्याधुनिक साइलेज मेसिनले कृष्णपुर नगरपालिकालाई आधुनिक पशुपालन प्रविधि अपनाउने अग्रणी स्थानीय तहका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। किसानमैत्री प्रविधिको विस्तारसँगै उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालन प्रवर्द्धनमा यो पहल प्रभावकारी बन्ने विश्वास गरिएको छ।