
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने उद्देश्यले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको छ। साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयका करिब ४ हजार विद्यार्थीले यस भान्साघरमा तयार गरिएको खाजा प्राप्त गर्नेछन्।

शनिबार आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिका–७ का वडा अध्यक्ष मोती राना थारूले एकीकृत भान्साघरको उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाका अनुसार बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७९५ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै, सरस्वती आधारभूत विद्यालय शान्तिनगरमा कक्षा ८ सम्मका सबै विद्यार्थीलाई पनि यही भान्साघरबाट दिवा खाजा उपलब्ध गराइनेछ।
भान्साघर सञ्चालनका लागि धनगढी–७ स्थित नवज्योति आधारभूत विद्यालय मिलानपश्चात् दुई वटा भवन, थप पूर्वाधार निर्माण, मर्मत, भान्सा सामग्री, ढुवानी साधन तथा विद्युत जडानमा उपमहानगरपालिकाले करिब १ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ। यसका साथै विश्व खाद्य कार्यक्रम (WFP) बाट ८६ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि कुल २ करोड २३ लाख रुपैयाँको लागतमा परियोजना सञ्चालनमा आएको हो।


काठमाडौँ उपत्यकापछि नेपालमै दोस्रो तथा स्थानीय तहको पहलमा सञ्चालनमा आएको यो एकीकृत भान्साघरले विद्यार्थीको पोषण, स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनक भट्ट, कार्यपालिका सदस्य, वडा अध्यक्ष, स्थानीयवासी, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र दिवा खाजा व्यवस्थापनको जिम्मा लिएको “फुड फर लाइफ” संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
































