
हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई क्षेत्र नजिक रहेकाले मौसममा व्यापक प्रभाव परेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली, पहाडी तथा तराईका विभिन्न क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बदली कायम रहनेछ भने कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नदी, खोला तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
































