
गणेश नेपालीको निधन प्रकरणमा निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै सामाजिक न्यायका लागि दलित गोलमेच अभियानले आइतबार धनगढीमा विरोध सभा आयोजना गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित कार्यक्रममा सहभागीहरूले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र संलग्न दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सभालाई सम्बोधन गर्दै पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने बताए। साथै उनले सुकुम्बासी समस्याप्रति सरकार उदासीन रहेको आरोप पनि लगाए।

प्रदर्शनमा सहभागीहरूले महानगर प्रहरीको भूमिकामाथि समेत निष्पक्ष छानबिन गर्नुपर्ने माग राखे। यस्ता घटनाले समाज, विशेषगरी युवापुस्तामा नकारात्मक सन्देश जाने भएकाले राज्य जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो। माग सम्बोधन नभएसम्म न्यायका लागि संघर्ष जारी रहने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका छन्।
































