
नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणका लागि सम्पन्न खेलाडी अक्सन र रिटेन्सनमा धनगढी क्रिकेट एकेडेमी (DCA) ले उल्लेखनीय सफलता हासिल गरेको छ। एकेडेमीका कुल ९ जना खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुँदै सुदूरपश्चिमको क्रिकेट विकासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

यसपटकको अक्सनमा DCA का प्रतिभावान तथा नेपालको यू–१६ टोलीका खेलाडी सचिन भट्ट ‘पहिलो सोल्ड आउट’ खेलाडी बन्दै सुदूरपश्चिम रोयल्समा आबद्ध भए। उनीसँगै आयुब चन्द र विकेटकिपर–ब्याट्सम्यान टेक रावत पनि सोही टोलीमा छनोट भएका छन्। यसअघि नै हिम्मत महरा रिटेन भइसकेकाले सुदूरपश्चिम रोयल्समा DCA का चार खेलाडी रहने भएका छन्।

यस्तै, नेपाल यू–१९ टोलीका पूर्वकप्तान अशोक धामी र ब्याट्सम्यान बिपिन रावल चितवन राइनोजमा आबद्ध भएका छन्। विराटनगर किंग्सले लोकेश बम र नारायण जोशीलाई रिटेन गरेको छ भने स्पिनर शेर मल्ल लुम्बिनी लायन्समा सुरक्षित भएका छन्।

एउटै क्रिकेट एकेडेमीबाट ९ खेलाडी देशकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता NPL मा पुग्नु सुदूरपश्चिम क्रिकेटका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। धनगढी क्रिकेट एकेडेमीले सबै खेलाडीलाई बधाई दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ।
































