
कैलालीको गोदावरी नदीमा एक्कासी आएको बाढीमा फसेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका व्यक्ति बर्दगोरिया गाउँपालिका–१ निवासी ३३ वर्षीय अपील मल्ल हुन्। उनी घुम्न गएका बेला नदीमा पानीको बहाव अचानक बढेपछि बीच भागमा फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीको सक्रिय प्रयासपछि मल्ललाई सुरक्षित रूपमा नदीबाट बाहिर निकालिएको हो।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरा सिंह महराले मल्ल घुम्न गएका क्रममा अचानक आएको बाढीका कारण फसेको जानकारी दिए। समयमै उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए।
वर्षायाममा नदी तथा खोलामा पानीको बहाव एक्कासी बढ्न सक्ने भएकाले अनावश्यक जोखिमपूर्ण गतिविधि नगर्न र सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
































