
अमेरिका र इरानबीचको कूटनीतिक तथा सैन्य तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच सम्झौता अन्तिम चरणमा पुगेकै बेला इरानले एक व्यावसायिक जहाजमा ड्रोन आक्रमण गरेर वार्ताको वातावरण बिगारेको आरोप लगाएका छन्। ट्रम्पका अनुसार इरानी पक्ष अधिकांश विषयमा सहमत भइसकेको अवस्थामा भएको उक्त आक्रमणले सम्झौताको सम्भावना कमजोर बनाएको हो।

हर्मुज स्ट्रेटमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले जवाफी कारबाहीस्वरूप इरानका करिब १४० सैन्य प्रतिष्ठानमा शक्तिशाली हवाई हमला गरेको जनाएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले आफ्नो कदमको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यता, इरानले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले उक्त दाबी अस्वीकार गर्दै जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न अमेरिकी सेना उच्च सतर्कतामा रहेको जनाएको छ।

सेन्टकमले अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलमार्ग सबैका लागि खुला रहने र सामुद्रिक आवतजावतको स्वतन्त्रताको रक्षा गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज स्ट्रेटलाई लिएर बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायको चिन्ता थप बढाएको छ।
































