
बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सामना गरिरहेकै अवस्थामा स्वदेश फर्किने दृढता व्यक्त गरेपछि बंगलादेशको राजनीति फेरि तरंगित बनेको छ। करिब दुई वर्षअघि विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि सत्ताच्युत भएकी ७८ वर्षीया हसिना हाल भारतमा निर्वासनमा रहेकी छन्। उनले आगामी डिसेम्बरमा गिरफ्तारी वा ज्यानको जोखिम मोलेरै भए पनि स्वदेश फर्कने योजना सार्वजनिक गरेकी हुन्।

गत नोभेम्बरमा विशेष न्यायाधिकरणले आन्दोलनका क्रममा भएको हिंसा, प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको तथा हत्या रोक्न नसकेको अभियोगमा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तर हसिनाले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको दाबी गर्दै मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन्।

विश्लेषकहरूका अनुसार हसिनाको सम्भावित फिर्तीले प्रतिबन्धित अवामी लिगलाई पुनर्जीवित गर्न सक्छ भने सत्तारुढ बीएनपी र अवामी लिगबीचको परम्परागत राजनीतिक प्रतिस्पर्धा पुनः सक्रिय हुन सक्छ। यसले पछिल्लो समय प्रभाव बढाइरहेको इस्लामवादी दल जमात–ए–इस्लामीको विस्तारलाई समेत चुनौती दिन सक्ने आकलन गरिएको छ।

यद्यपि बंगलादेश सरकारले हसिना स्वदेश फर्किएलगत्तै पक्राउ गरिने स्पष्ट पारेको छ। परराष्ट्र राज्यमन्त्री शमा ओब्याद इस्लामले कानुनअनुसार उनलाई तुरुन्तै जेल पठाइने बताएका छन्। राजनीतिक विश्लेषकहरू भने हसिनाको भविष्य अन्तर्राष्ट्रिय समर्थन, कानुनी प्रक्रियाको नतिजा र बदलिँदो राजनीतिक समीकरणमा निर्भर रहने बताउँछन्।





























